बुटवलमा सञ्चालित तिन दिने डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ ।



लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह नेपाल
लुम्बिनीको समन्वयमा सञ्चालन भएको तीन दिने तालिममा यश क्षेत्रमा क्रियाशील २५ जना पत्रकारहरूको सहभागीता रहेको थियो ।
तालिम समापनका अवसरमा युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले उद्मम गर्न चाहने युवाहरूलाई नेपालमा धेरै सम्भावना रहेको भन्दै सम्भावनाको पहिचान गर्न नसक्दा युवाहरू बिदेश पलायन भएको बताए ।
पछिल्लो समय हरेक क्षेत्रमा नयाँ नयाँ प्रबिधिहरु भित्रीएको भन्दै उनले पत्रकारहरुलाई पनि डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउन उद्धश्यले तालिम आयोजना गरिएको बताए । समय र प्रविधिको विकाससँगै पत्रकारिता पेसालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने भन्दै उपाध्यक्ष केसीले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गरे ।

कार्यक्रममा सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोल,प्रशिक्षक अमृत गोतामे,पत्रकार विष्णु पोखरेल,रबिन्द्र प्रताप गुप्ता,अस्मिना पाण्डे लगायतले डिजिटल प्रविधि तालिम पत्रकारहरुको लागी उपयोगी भएको बताए ।
तालिममा सिकेका सीपलाई व्यवहारमा पनि उतार्न जरुरी रहेको भन्दै उनिहरूले पत्रकारितालाई समयानुकूल परिमार्जन र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सीप आवश्यक रहेकोमा जोड दिए ।
तालिमको बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए ।




