रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा शनिवार गैडहवा गाउँपालिकाको वडा नंं ९ को समावेशी टोलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गैडहवा गाउँपालिका वडा नं. ८ र ९ को विशेष सहयोग र साझा हस्पिटल प्रालि बुटवलको सह आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविर आयोजना गर्नुको उद्देश्यका बिषयमा बोल्दै सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले स्वास्थ्यको पहुँच पुग्न नसकेको ग्रामिण क्षेत्रका विपन्न बर्गका जनतालाई लक्षित गरि क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थय शिविर आयोजना गरिएको बताउनु भयो ।
त्यसैगरी स्वास्थ्य शिविरकै क्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जनप्रतिनिधिको रुपमा आफूहरुले पदभार ग्रहण गरेदेखि नै स्वास्थ्यलाई प्रमुख मानेर काम गर्दै आएको बताउँदै पालिकाले अहिले १५ शैयाको अस्पताल निर्माण गरेको उल्लेख गर्नुभयो । उहाँले अर्को बर्षदेखि एमविविएस डाक्टरको व्यवस्था गरेर अस्पताल संचालन गर्ने बताउनु भयो ।



त्यसैगरी स्वास्थ्य शिविरमा बोल्दै साझा हस्पिटल प्रालिका अध्यक्ष गोविन्द खनालले पछिल्लोसमय प्राईभेट अस्पतालहरु नाफामुखी मात्रै हुन्छन, महंगो हुन्छन भन्ने भ्रम सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्दै साझा हस्पिटल प्रालिले न्यूनतम शुल्क राखेर सेवा प्रदान गरिरहेको बताउनु भयो । उहाँले बुटवलमा मात्रै होइन बुटवल बाहिर गाउँगाउँमा गएर स्वास्थ्य शिविर तथा जनचेतनाका कार्यक्रम गर्न सुरु गरेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य शिविरमा १ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा चिसोका कारण बृद्धबृद्धा तथा बालबालिकाहरुमा स्वास्थ्य समस्या बढी देखिएको पाइएको थियो ।




