बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगरमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मेकानिकल इञ्जिनियरिङ विभागका विद्यार्थीहरुले कम्प्याक्टर मेसिन निर्माण गरेका छन ।
स्थानीय तहहरुमा संचालन हुने फोहरमैला प्रशोधन केन्द्रमा प्लाष्टिकका बोतल लगायतका नकुहिने फोहरहरुको आयतन घटाउन यो मेसिन अत्यन्त उपयोगी हुने कुरा उक्त मेसिन बनाउने मध्येका एक विद्यार्थी अमूल भट्टराईले जानकारी दिए ।



यसअघि यस प्रकारको मेसिन विदेशी मुलुकबाट आयात गर्ने गरिएको थियो । नेपालको शिक्षालयमा यस्तो मेसिन पहिलोपटक बनेको शिक्षालयका उत्पादन इकाई प्रमुख टामलाल खनालले जानकारी दिनुभयो । १५० टनको बलले बस्तुलाई कम्प्रेश गर्ने यो मेसिन अत्यन्तै उपयोगी हुने इञ्जिनियर निरज तिवारीले बताउनु भयो ।
शिक्षालयमा डिप्लोमा तहमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, सूचना प्रविधि, मेकानिकल, रेफ्रिजेरेसन एण्ड एयर कण्डिसनिङ गरी ५ वटा इञ्जिनियरिङ कार्यक्रम संचालन भैरहेको शिक्षालय प्रमुख नविन गैरेले बताउनु भयो ।
कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा अध्ययन गरेका विद्यार्थीहरुले नेपालमा मात्रै होइन विदेशमा समेत दक्ष प्राविधिकका रुपमा काम गरेर नेपालको नाम र पहिचान बढाउन सफलता प्राप्त गरेका छन ।




