रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पसको नवनिर्वाचित क्याम्पस संचालक समितिको सपथ तथा पदभार ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
सपथ तथा पदभार ग्रहण कार्यक्रममा मन्तब्य राख्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले कक्षा ११ र १२ कक्षाका विद्यार्थीमात्र होइन डाक्टर, इञ्जिनियर समेत देशबाट पलायन हुने क्रम बढेको बताउनु भयो । उहाँले पालिकाहरुमा बनेका अस्पतालमा डाक्टर नपाउने अवस्था आएको बताउँदै सरकारको अन्धो नीतिका कारण हिजोका प्राविधिक इन्स्टिच्यूटहरु नर्सिङ कलेजहरु रित्तिईसकेको बताउनु भयो ।



कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले नवनिर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै अध्यक्षले गरेको प्रतिवद्धता पूरा भयो भने क्याम्पसको विकासमा सहयोग पुग्ने बताउँदै सवैले नयाँ संचालक समितिलाई सहयोग गरेर क्याम्पसलाई प्रगती उन्मुख बनाउन अनुरोध गर्नुभयो ।
पदभार ग्रहण गरेपछि मन्तब्य राख्दै नवनिर्वाचित क्याम्पस संचालक समितिका अध्यक्ष यदुलाल पन्थले यस क्षेत्रका सवै जनताको साथ र सहयोगले यो क्याम्पसलाई उच्च शैक्षिक प्रतिष्ठान र प्रतिष्ठित प्रतिष्ठानको रुपमा विकास गर्ने बताउनु भयो । उहाँले आर्थिक पारदर्शितालाई महत्वपूर्ण अंग मानेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले थुप्रै चुनौतिका बीच क्याम्पसलाई यस क्षेत्रकै अब्बल क्याम्पस बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै संचालक समितिको नवनिर्बाचित टिम सशक्त आएकोले क्याम्पसको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी सैनामैनाका इञ्चार्ज नारायण महत, नेकपा एमाले सैनामैनाका अध्यक्ष नारायण न्यौपाने, नेपाली कांग्रेस सैनामैनाकी उपसभापति लक्ष्मी आचार्य पौडेल, राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतम र क्याम्पसका पूर्व अध्यक्ष डिल्लीराज ज्ञवाली लगायतले नवनिर्वाचित क्याम्पस संचालक समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।




