बुटवल उपमहानगरपालिकाले क्षयरोग स्क्रिनिङ्ग शिविर सुरु गरेको छ । क्षयरोग मुक्ति पालिका घोषणा अभियान अन्तरगत अति जोखिम तथा स्वास्थ्य संस्थाबाट टाढा रहेका समुदायका लागि वडामै पुगेर शिविर सुरु गरेको हो ।
आईतबादेखि बुटवल वडा नं. १ बाट शिविर सुरु भएको हो । बुटवल उपमहानगरपालिका वडा नंं. १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले शिविरको उद्घाटन गर्दै जोखिममा रहेका ब्यक्तिलाई घरमै पुगेर खकारको नमुना संकलन गरेर परिक्षण गरिने बताउनु भयो ।
क्षयरोग नियमित औषधी सेवनबाट निको हुने भएकाले परिक्षण गराएर समयमा नै उपचार गर्नको लागि उहाँले आग्रह गर्नुभयो । क्षयरोग मुक्ति पालिका घोषणा अभियान अन्तरगत शिविर संचालन गरिएको बताउँदै बस्नेतले यस अभियानमा सबैले साथ दिनुपर्ने बताउनु भयो ।
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयले १९ वटै वडामा स्वास्थ्यकर्मी पुगेर शिविर संचालन गरिने जानकारी दिनुभयो । शिविरमा खकारको नमुना संकलन गरि क्षयरोग भए–नभएको परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । क्षयरोग भेटिएमा निःशूल्क रुपमा उपचार गरिने भएकाले शिविरमा आएर खकार परिक्षण गराउनको लागि उहाँले आग्रह गर्नुभयो ।



स्वास्थ्य संस्थामा पुगेर खकारको नमुना समेत परिक्षण गराउन नसक्ने समुदायलाई लक्षित गरि शिविर संचालन गरिएको पाण्डेयको भनाई छ । शिविरमा आउन नसक्ने बिरामीलाई घरघरमा स्वास्थ्यकर्मी पुगेर पनि नमुना संकलन गरेर उपचारमा सहयोग पुराउने उहाँले जानकारी दिनुभयो ।




