रुपन्देहीको कञ्चन गाउँपालिकामा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा कञ्चन ३ को लालीगुरास खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो ।



प्रतियोगिताको बिषयमा जानकारी दिने उद्देश्यले विहिवार कञ्चनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जिल्ला खेलकुद विकास समितिले जसरी जिल्लाको खेलकुदको कार्यक्रम कञ्चनमा आयो, यो हाम्रो लागि उत्साहको कुरा हो भन्दै त्यसकालागि आवश्यक खेल मैदान निर्माण गरिसकेको र तयार भएको बताउनु भयो ।
उहाँले खेलकुद मैदान तयार भयो भने जिल्लाको खेलकुदको कार्यक्रम ल्याउन सकिन्छ भन्ने हेतुले खेल मैदान तयार गर्न आकस्मिक बजेट विनियोजन गरेर खेल मैदान तयार गरेको बताउनु भयो ।
जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष जयबहादुर सुनारले प्रतियोगिता विभिन्न ६ इभेन्टमा आयोजना हुने बताउनु भयो । उहाँले रुपन्देहीका १६ पालिकामध्ये प्रतियोगितामा ११ वटा पालिकाको सहभागिता हुन बताउनु भयो । प्रतियोगितामा धेरै भन्दा धेरै पालिकाहरुको सहभागिता होस भन्ने उद्देश्यले पालिकाहरुमा पालैपालो खेल प्रतियोगिता गर्न लागेको उहाँको भनाई छ ।
कार्यक्रममा रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी तथा खेलकुद विकास समितिका सदस्य टेकवहादुर थापाले कञ्चन गाउँपालिकाले खेलकुद प्रतियोगिता सञ्चालन गर्न लालीगुराँस खेल मैदान निर्माण गरेकोमा जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद विकास परिषदको तर्फबाट धन्यबाद दिदै यो खेलकुद मैदानलाई रंगशालाको रुपमा स्थापित गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाकि उपाध्यक्ष मौसमि थापा मगर, कञ्चन वडा नं ३ का अध्यक्ष टिकाराम सापकोटा , हरैया माध्यमिक बिद्यालयका प्रधानध्यापक मेघनाथ शर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रम जिल्ला भलिवल संघका उपाध्यक्ष रामबबहादुर थापाको स्वागत र राधिका चौधरिको सञ्चालमा सम्पन्न भएको थियो ।
फागुन ३ देखि सुरु हुने प्रतियोगिताको आवश्यक तयारी भैरहेको छ । प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ ।




