रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको यस क्षेत्रकै ऐतिहासिक तथा धार्मिकस्थल मलमला मन्दिर क्षेत्रमा विगत दुई महिनादेखि बत्ती नहुँदा उक्त क्षेत्र निष्पट अँध्यारो बनेको छ । सैनामैनाकै ऐतिहासिक तथा धार्मिक स्थल उक्त क्षेत्रमा बिजुली बाल्नेतर्फ भने सम्वन्धित निकाय बेखबर बनेको छ ।
उक्त क्षेत्रमा रहेको नाँगो तार सर्ट भएका कारण अवरुद्ध बनेको विद्युत सेवा दुई महिना हुँदा पनि मर्मत गरेर जोड्नेतर्फ विद्युत प्राधिकरणको ध्यान गएको छैन भने सरोकारवाला निकाय सैनामैना नगरपालिका, स्थानीय जनप्रतिनिधि र मलमला एकीकृत सामुदायिक विकास केन्द्रले कुनै वास्ता गरेका छैनन ।



विद्युत सेवा सुचारु नहुँदा मलमला मन्दिर दर्शन गर्न जाने धर्मावलम्बीहरुले समस्या झेल्नु परेको छ । मलमला मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुले विद्युत् सेवा अवरुद्ध भएको दुई महिना वितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण, मलमला एकिकृत सामुदायिक विकास केन्द्र र स्थानीय सरकारले कुनै चासो नदेखाएका कारण आफूहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन ।
गत मंसिर २५ गते विद्युत सर्ट भएपछि त्यसयता उक्त क्षेत्रमा विजुली बलेको छैन । त्यस सम्वन्धमा मलमला एकीकृत सामुदायिक विकास केन्द्रका अध्यक्ष पदम पाण्डेले विद्युत मर्मत गर्न एकलाख ५० हजार रुपैया खर्च लाग्ने र उक्त रकम केन्द्रसंग नरहेकोले सैनामैना नगरपालिकासंग सहयोग माग गरेको बताउनु भयो ।
उहाँले नगरपालिकाले सहयोगको आश्वासन दिएपनि अहिलेसम्म कुनै चासो नदिएको गुनासो गर्नुभयो । विद्युत अवरुद्ध हुँदा साँझ बिहान मन्दिर जाने महिलाहरु बढी असुरक्षित हुने डर रहेको भक्तजनहरु बताउँछन ।
मलमला मन्दिरका पुजारीले साँझ विहान बिजुली बलेर झकमक्क हुने मन्दिरमा विगत दुई महिनादेखि बिजुली नहुँदा मन्दिर क्षेत्र अँध्यारो बनेको र आफूहरु असुरक्षित जस्तै भएको गुनासो गर्नुभयो ।
मलमला मन्दिरमा दर्शनका लागि जाने भक्तजनले यस बिषयमा गुनासो गरेपछि साझा टेलिभिजनको टिम विहिवार राती ९ बजे मलमलाको तल्लो आधार क्षेत्रमा पुग्दा उक्त क्षेत्र चकमन्न अँध्यारो देखियो ।
यस बिषयमा सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेलसंग बुझ्दा वडामा त्यस बिषयमा तत्काल बजेट नभएको र विद्युत प्राधिकरण मुर्गिया शाखासंग विद्युत जडानका लागि आग्रह गरिएको बताउनु भयो ।
उता विद्युत प्राधिकरण मुर्गियाका प्रमुख रामचन्द्र पोखरेलले सैनामैनाका विभिन्न स्थानमा पोलिङको काम भैरहेको र उक्त काम सम्पन्न भएपछि सो क्षेत्रमा कालो तार तान्ने र विद्युत सुचारु गर्ने बताउनु भयो । उहाँले सो क्षेत्रमा विद्युत सेवा पु¥याउन अझै एक महिना लाग्ने बताउनु भयो ।
मलमला मन्दिर क्षेत्र सैनामैना नगरबासीका लागि गहना हो । तर, विगत दुई महिनादेखि सो क्षेत्रमा बिजुली नबल्दा पनि सम्वन्धित निकाय मौन हुनु लापरवाहीको अन्तिम पराकाष्ठा हो ।
एकलाख ५० हजार बजेट भए तत्काल विजुली बल्ने अवस्था हुँदा पनि ऐतिहासिक धार्मिक स्थललाई अध्यारो बनाएर ओझेलमा पार्ने काम हुनु सैनामैनाकै लागि बिडम्वना हो । मलमला क्षेत्रमा चाँडो बिजुली बाल्ने काम सुचारु होस । यसमा सम्वन्धित निकायको अबिलम्ब ध्यान जाओस ।




