रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी तीव्र पारेको छ । सोमवार विद्यालयले पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवको तयारीका बिषयमा जानकारी दिदै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
वि.स.२०३१ सालमा स्थापना भएको विद्यालयले फागुनलाई जन्म महिनाका रूपमा मनाउने गरी सप्ताहव्यापी कार्यक्रम सुरु गरेको विद्यालयले जनाएको छ ।



विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले विद्यालय पछिल्लोसमय बुटवल पश्चिमको उत्कृष्ट विद्यालय बन्न सफल भएको बताउदै विद्यार्थी, अभिभावक र विद्यालय परिवार सवैको ऐक्यबद्धताबाट यो बिद्यालय यस क्षेत्रकै आकर्षक र रोजाईको बन्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले फागुन ३ गतेदेखि नै कार्यक्रम सुरु भएको जानकारी गराउनुभयो ।
जस अनुसार फागुन १२, १३ गते मूल समारोह गरिने र फागुन १४ गते स्वर्ण महोत्सवको समापन गर्ने तयारी भइरहेको प्रधानाध्यापक पुरीले बताउनुभयो । उहाँले स्वर्ण महोत्सवको तयारी तथा स्वर्ण महोत्सवलाई सफल पार्न आग्रह गर्नुभयो ।
विद्यालयले फागुन ८ गते देखि ११ गतेसम्म प्रतियोगितात्मक कार्यक्रमहरू गर्ने, फागुन १० गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता र जिल्लास्तरीय खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता गर्ने जनाएको छ ।
यस्तै फागुन १२ गते आन्तरिक नृत्य प्रतियोगिता, फूड फेष्टिबल समुघाटन, चन्दा दाता सम्मान कार्यक्रम, छात्रवृती तथा पुरस्कार वितरण फागुन १३ गते फूड फेष्टिबल, चन्दादाता सम्मान कार्यक्रम गर्ने र फागुन १४ गते मूल समारोह समुदघाटन, स्वर्णस्तम्भ समुदघाटन, नवनिर्मित भवन समुदघाटन, स्वर्ण स्मारिका समुदघाटन, पुरस्कार तथा सम्मान कार्यक्रम, उत्कृष्ट विद्यार्थी प्रतिभा प्रस्तुतीकरण र साँझ दीपावली गरेर कार्यक्रम समापन गर्ने तयारी गरेको प्रधानाध्यापक नेत्रलाल पुरीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्यालले सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय पछिल्लोसमय धेरै विद्यार्थीको रोजाई भएको बताउँदै जीर्ण अवस्थामा रहेको विद्यालयलाई आफु व्यवस्थापन समितिमा र प्रधानाध्यापकमा नेत्रलाल पुरी आइसकेपछी धेरै सुधार भएको बताउनुभयो ।
वुटवल पश्चिमकै उत्कृष्ट शैक्षिक हवको रुपमा रहेको यस सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा हाल २५०८ विद्यार्थी अध्ययनरत रहेका छन् । नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुने उक्त विद्यालयले प्लस टु तर्फ विज्ञान विषय सुरु गरेकै वर्ष विज्ञानमा १०० प्रतिशत नतिजा निकाल्न समेत सफल भएको थियो ।
स्वर्ण महोत्सव अन्तरगत मंगलवार बेलुन उडाएर खेलकुद प्रतियोगिताको सुरुवात गरिएको हो । जसमा भलिवल, फुटवल, क्रिकेट, बास्केटबल, तातोआलु प्रतियोगिता तथा कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ ।




