रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । झण्डै २ घण्टाको घम्साघम्सीपछि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ । कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।
सोमबार विहान कार्यालय खुल्ने समयपारेर तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहितको कार्यकर्तासँग सुरक्षाकर्मीको निकैबेर घम्साघम्सी चलेको थियो । नगर प्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास गर्दा सुरक्षाकर्मीले छेक्ने प्रयास पछि दुबैपक्षबीच झडपको अवस्था आएको थियो ।



नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।
देवदहमा पौष १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले एक पक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख ध्रुब खरेल, उपप्रमुख बिद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा सहभागी हुने नगरपालिकाका कार्यक्रमहरु बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको पनि जनाएका छन् ।
वडा अध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा नगर प्रमख कोषदेखि आफनो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न ९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरिएको, वडा नं ८ मा नदीजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रेक्टर र जेसिभी पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको मिलेमतोमा विना राजश्व छाडिएको आरोप लगाइएको छ ।




