रुपन्देहीको सैनामैना नगरपालिकामा महिलाहरुका लागि फेसन डिजाइनर तालिम सञ्चालन गरिएको छ । महिला संग उपप्रमुख कार्यक्रम अन्तरगत फेसनडिजाइनर तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई अत्मानिर्भर बनाउने उद्देश्यले सैनामैनामा महिला संग उपप्रमुख कार्यक्रम सञ्चालन भएको हो ।
तालिमले महिलाहरुलाई आत्मानिर्भर बनाउन र रोजगारी श्रृजना गर्न महत्वपुर्ण भुमिका खेल्ने सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले बताउनुभयो । आर्थिक बर्ष २०८०÷८१ मा सो कार्यक्रम अन्तरगत हस्तकला तथा विभिन्न सिपमुलक तालिम, नेतृत्व विकास, सचेतनामूलक कार्यक्रम लगाएत गरिने उहाँले जानकारी दिनुभयो । तालिम अवधिभर सिकेका ज्ञान–सिपलाई आउँदो दिनमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने उहाँले सुझाव दिनुु भयो ।



महिलाहरुलाई स्वारोजगार बनाई महिलाहरुले उत्पादन गरेका हरेक उत्पादित बस्तु तथा समाग्रीहरुको संकलन र बजारीकरण गर्न सैनामैनामा कोसेली घर निर्माण समेत गरिने उहाँले बताउनु भयो । सैनामैना नगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख तुलसा ज्ञवालीलेमहिलाहरुको चाहाना अनुसार सीप मुलक तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिम पश्चात् महिलाहरुलाई सक्षम उद्यमी बन्न मद्दत मिल्ने उहाँको भनाई छ । फेसन डिजाइनर तालिम अन्तरगत प्रशिक्षार्थीहरुले आफुले सिलाएर लगाएका पहिरनको प्रस्तुतीकरण गरेकाछन् । आइतबार एक कार्यक्रमको आयोजना गरि प्रशिक्षार्थीहरुले सिकेका सिप प्रदर्शन गरेका हुन् । फेसन डिजाइनर तालिममा वडा नं. १ देखि ११ का २७ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिममा सैनामैना नगरपालिकाले आर्थिक सहयोग तथा आधार ट्रेनिङ सेन्टरले ब्यवस्थापन गरेको छ । तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्ने सहभागीहरुले कार्यक्रममा प्रतिवद्धता समेत जनाएका छन । तालिम ६५ दिनसम्म सञ्चालन हुने छ ।




