सैनामैना नगरपालिका रुपन्देहीको आयोजनामा सैनामैनाको वडा नंं ९ स्थित वडा कार्यालयमा जनतासंग जनप्रतिनिधि कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
साझा टेलिभिजनसंगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्ने स्थानीय वडाका बासिन्ताहरुले सैनामैना नगरपालिका वडा नंं ९ मा भएका विकास निर्माणका काम, समस्या, आगामी दिनका योजना लगायतका बिषयमा नगरको ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरुले नदीजन्य पदार्थको प्रयोग, ऐलानी जग्गाको माटोले जग्गा सम्याउने कुरा, विद्युतको समस्या, खानेपानी लगायतका बिषयमा वडा अध्यक्ष भानुभक्त पाण्डे र नगरप्रमुख फणेन्द्रप्रसाद शर्माको ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नदीजन्य पदार्थ उत्खननमा अहिले केही समस्या रहेको बताउँदै वडा नंं ९ को नदीजन्य पदार्थ प्रयोग गरि यहीको सडक निर्माण गर्दा अख्तियारले पुर्जी काटेर दुःख दिएको बताउँदै काम गर्न समस्या रहेको बताउनु भयो । उहाँले नदीजन्य पदार्थ उत्खनन गरेर नगरको विकास गर्न सकिने बताउदै तर आफूहरुमाथि अख्तियारको तरबार घुमिरहेको बताउदै केही कानुनी बाधा ब्यवधानका कारण नदीजन्य पदार्थ उत्खनन गर्न नसकिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेले वडा कार्यालयहरुले दिने तालिम फलदायी नभएको भन्ने गुनासो सुन्नमा आएकोले अव अर्को बजेटमा तालिमका कार्यक्रम राख्नका लागि अहिले नै टोल टोलमा गएर कुन तालिम कसले लिन चाहेको हो उक्त बिषयमा छलफल गरेपछि मात्रै तालिमका कार्यक्रम योजनामा समाबेश गर्ने र त्यसबाट तालिम फलदायी बनाउन सहयोग पुग्ने बताउनु भयो ।



लुम्बिनी प्रदेशको पहिलो टेलिभिजन साझा टेलिभिजनको आयोजनामा भएको जनतासंग जनप्रतिनिधि कार्यक्रमको संचालन तथा सहजीकरण साझा टेलिभिजनका म्यानेजिङ डाईरेक्टर भुवन जिसीले गर्नुभएको थियो ।




