रुपन्देहीको सैनामैनामा रहेको दुधराक्ष युवा क्लबको अगुवाई र नेतृत्वमासैनामैना नगरपालिका वार्ड न–६ कलौनी चोकको दक्षिण लुम्बिनी रोडमा निर्माण हुन लागिरहेको गौतमबुद्धस्मारकको डिजाइनलाई अन्तिम रुप दिइएको छ ।
तीन दिन विभिन्न कार्यक्रम गरेर लुम्बिनीमा बुद्ध जयन्ती मनाउने गरिएकोले उक्त स्मारकको शिलान्यास पनि बुद्ध जयन्तीकै अवसरमा तीन दिनमध्ये कुनै एक दिन गरिने आयोजक दुधराक्ष युवा क्लवले जनाएको छ ।



सैनामैना– ८ निवासी इञ्जिनियर उमेश काफ्लेलेगौतमबुद्व स्मारकको डिजाइनको काम निशुल्क रुपमा सहयोग गर्नुभएको छ ।
कूल १५ लाख लगानीमा निर्माण हुने स्मारकको लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले ब्यक्तिगत रुपमा एकलाख ५० हजार रुपैया उपलब्ध गराईसक्नु भएको छ भने लुम्बिनी विकास कोषको तर्फबाट मुर्ती उपलब्ध गराईने दुधराक्ष युवा क्लवका सचिव पदम पाण्डेले जानकारी दिनुभयो ।
उहाँले शिलान्यास भएको डेढ महिनाभित्रै निर्माणको काम सम्पन्न हुने अपेक्षा गरिएको बताउनु भयो ।
बाँकी रकम स्थानीय संघसंस्था, सामाजिक ब्यक्तित्व तथा स्वेच्छाले आफ्नो आमा बुबा तथा परिवारका अन्य सदस्यहरुको स्मृतिमा सहयोग गर्न चाहनेहरुबाट संकलन हुने क्लबले जनाएको छ ।
बुद्ध स्मारक बनाउन सहयोग गर्ने दाताहरुको नाम बुद्ध स्मारक परिसरमा बोर्ड बनाएर लेखिने छ ।
कलौनीमा बुद्ध स्मारक निर्माण सम्पन्न भएपछिसैनामैनाको कलौनी क्षेत्र बुद्ध पर्यटनसंग जोडिने र यसबाट कलौनी क्षेत्रमा पनि पर्यटक आगमन बढने विश्वास आयोजक संस्था दुधराक्ष युवा क्लवले गरेको छ ।
दुधराक्ष युवा क्लबले विगतदेखि नै सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । आठ महिना अघि पनि क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।




