लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम जेठ २१ गते सोमबार प्रस्तुत हुने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले यही जेठ २१ गते प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।



कपिलवस्तुको बाणगंगा नगरपालिका–८ कपिलवस्तु निवासी खनालसंग शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको छ । यसअघि डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारको पालामा नियुक्त हुनुभएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना आयोग दुई महिना बढी समयदेखि पदाधिकारीविहीन भएको थियो ।
यसैबीच मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो सचिवालयमा दुईजना विज्ञलाई नियुक्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुुशान्त बैदिकलाई नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
उता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेण्टमा डा. इन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।




