सैनामैना नगरपालिका रोजगार सेवा केन्द्र रुपन्देहीको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार रणनीति तर्जुमाको लागि राय सुझाव संकलन कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुले रोजगार कार्यक्रमलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउने तथा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने बिषयमा राय सुझाव दिएका थिए ।
सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहभागीहरुबाट आएका सुझावलाई आत्मसाथ गरेर पालिकाले आगामी दिनमा रोजगारी कार्यक्रमको रणनीति तयार गर्ने बताउनु भयो ।



त्यसैगरी सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सहभागीहरुबाट आएको सुझावलाई आत्मसाथ गरिने प्रतिवद्धता जनाउनुभयो । रोजगारीको बर्तमान अवस्था, त्यसको अवसर, रोजगारदाताको अभिलेख तथा रोजगार बैंक स्थापना सहित बर्तमान अवस्थामा रोजगारदाताहरुलाई परेको समस्या र समाधानका उपायका बिषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडका, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, होटल व्यवसायी संघ सैनामैनाका अध्यक्ष झविन्द्र पोखरेल, उपभोक्ता हित संरक्षण मंच सैनामैनाका संस्थापक अध्यक्ष दुर्गा गौतम, संचारकर्मीहरु भुवन जिसी, टिका खरेल, कृष्ण भण्डारी, रमेश गैरे लगायतले बोल्दै रोजगार कार्यक्रमलाई औपचारिक भन्दा पनि प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो ।




