रुपन्देहीको कञ्चन गाउँपालिका रुपन्देही जिल्लामै बढी पुँजीगत खर्च गर्ने पालिकाभित्र परेको छ । कञ्चन गाउँपालिका यसअघि जिल्लाकै सवैभन्दा कम बेरुजु गर्ने पालिकामा परेको थियो ।
कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले आफूहरुले पुँजीगत खर्च बढाउन वडा तहमै गएर घुम्ती बैठक संचालन गर्नेदेखि योजनाको सम्झौता समयमै सम्पन्न गरेको र धेरैजसो काम पनि निर्धारित मिति अगावै गरेकोले पुँजीगत खर्च ९० प्रतिशत गर्न सफल भएको बताउनुभयो । अध्यक्ष ढकालले कञ्चन गाउँपालिकाको पहिलेको बेरुजु करिव १५ करोड रहेकोमा त्यसलाई घटाएर ५ करोडमा झार्न सफल भएको बताउँदै आगामी दिनमा कञ्चनलाई शून्य बेरुजु पालिका बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।
अध्यक्ष ढकालले दुई बर्षको अवधीमा कञ्चनमा दिर्घकालीन प्रभाव पार्ने योजनाहरुको सुरुवात गर्न सफल भएको बताउनु भएको छ । कञ्चन रिङरोडको डिपिआर सम्पन्न गरी संघीय सरकारबाट क्रमागत बजेट पार्न सफलता प्राप्त भएको बताउँदै अध्यक्ष ढकालले कञ्चन सिंचाई आयोजनाको डिपिआर गरेर संघीय सरकारबाट बजेट परेको बताउनु भयो । उहाँले कञ्चनमा ठूलादेखि साना योजनाको सुरुवात भैसकेको र यसले कञ्चनको विकासमा ठूलो योगदान पुग्ने बताउनु भयो ।
त्यसैगरी कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले विगत बर्षको पुँजीगत खर्चको प्रगती ८० प्रतिशत हाराहारीमा रहेकोमा अहिले भने ९० प्रतिशत पुग्ने बताउनु भयो । उहाँले समयमै योजना सम्झौता गर्ने र काममा तदारुकता देखाउने हो भने समयमै बिकास निर्माणका काम पूरा गर्न सकिन्छ भन्ने विश्वास सिर्जना भएको बताउनु भयो । उहाँले काम गर्दै जाँदा प्राप्त अनुभव अनुसार निश्चित सिमा निर्धारण गरेर काम गरियो र नियम भित्रै रहेर काम गरियो भने कुनैपनि काम गर्न सकिने रहेछ भन्ने कञ्चन गाउँपालिकाको बिकास निर्माणले स्पष्ट भएको उल्लेख गर्नुभयो ।



उहाँले देशैभरी पुँजीगत खर्च नभएको समाचार आईरहेको अवस्थामा कञ्चन गाउँपालिकाले भने त्यस्तो अवस्था सामना गर्नु नपरेको बताउँदै योजनाबद्ध काम गरेकै कारण कञ्चनले सफलता पाएको बताउनुभयो । उहाँले निश्चित मिति र सिमा तोकेर काम गरेको र निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई सयमसिमा दिएर काम गराएकोले समस्या नआएको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत गौतमले आगामी आर्थिक बर्ष २०८१÷०८२ को बजेट चालु आर्थिक बर्षको कामको प्रभावकारीतालाई ध्यानमा राखेर समयमै बिकास निर्माणको काम सम्पन्न गर्नेगरि अघि बढ्ने र सोही अनुसार बढी भन्दा बढी पुँजीगत खर्च गर्दै जाने पनि उल्लेख गर्नुभयो ।




