रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ स्थित पिपलडाँडामा निर्माणाधीन स्मार्ट रिफ्रेस सेन्टर घाँसे मैदान बनेको छ ।
चार बर्षअघि २०७७ साल मंसिर १२ गते शिलान्यास गरिएको रिफ्रेस सेन्टर निर्माण सम्पन्न नहुँदै घाँसे मैदानमात्रै बनेको छैन भवन समेत भत्किन थालेको छ ।
करिब एक बिघा क्षेत्रफलमा फैलिएको रिफ्रेस सेन्टर साढे तीन करोडको लगानीमा दुई वर्ष भित्र सम्पन्न गर्ने कार्यतालिका थियो ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा बन्दै गरेको रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थालेको हो ।
रिफ्रेस सेन्टरको वरिपरी लगाईएको बाउन्डरीको गारो ठाउँठाउँमा चिरा परेर भत्किन थालेको छ भने चौरभरि विरुवा उम्रिएर जंगल बनेको छ ।
लामो दुरीका सवारी चालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँचवटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा रुपन्देहीको सैनामैनामा रिफ्रेस सेन्टर बनाउन सुरु गरिएको थियो ।
रिफ्रेस सेन्टर निर्माणका लागि पहिलो चरणको काम गर्न ३ करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको थियो ।
स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने गरि निर्माण थालिएको थियो ।
रिफ्रेस सेन्टरमा अहिले एक तले भवन निर्माण सहित बाउन्डरी लगायतका काम भएका छन् । रिफ्रेस सेन्टरभित्र पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन लगायतका काम गर्न बाकीं रहेको छ ।
सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकाले रिफ्रस सेन्टरको निर्माण कार्य सम्पन्न गर्न संघ तथा प्रदेशमा पहल गर्न नसक्दा यसको निर्माण कार्यमा ढिलाई भएको बताउनुभयो ।
रिफ्रेस सेन्टरको निर्माण कार्य अगाडी बढ्न नसक्नु र संरक्षण हुन नसक्नुका पछाडी नगरपालिकाको कमजोरी रहेको बताउँदै कार्कीले रिफ्रेस सेन्टर छिटो निर्माण सम्पन्न गर्न जनप्रतिनिधि र कर्मचारीहरुले चाँसो दिनुपर्ने बताउनुभयो ।
उता सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले रिफ्रेस सेन्टर निर्माण सम्पन्न गरि प्रदेशले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण यसको रेखदेख तथा संरक्षण गर्न नसकिएको बताउनु भयो ।
उता रिफ्रेस सेन्टरको पहिलो चरणको काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका वरिष्ठ ईन्जिनियर तथा सूचना अधिकारी आदित्य धितालले बताउनु भयो ।
रिफ्रेस सेन्टरको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय योगिकुटीले निर्माण र हेरदेखको जिम्मा लिएको छ ।
धितालले दोस्रो चरणको काम गर्नका लागि रकम अभावका कारण गर्न नसकिएको बताउनुभयो ।







