हरेक बर्षजस्तै यो बर्षपनि बोलबम धाम जलार्पण यात्रा कार्यक्रम आईतवारदेखि सुरू भएको छ । यात्रा कार्यक्रम एक समारोहका वीच सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा शुभारम्भ भयो ।
साउन ६ गते गुरु पूर्णिमादेखि सुरु भएको बोलबम धाम जलार्पण यात्रा एक महिना अर्थात भदौ ३ गते रक्षाबन्धन जनैपूर्णिमासम्म हुने भएको हो ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका १ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा बोलबम यात्रा जलार्पण कार्यक्रमले यस क्षेत्रमा चहलपहल बढेको छ ।
बोलबम धाम व्यवस्थापन समितिका अध्यक्ष तथा पर्रोहा परमेश्वर शिवज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामवली चौधरीले आईतबार गुरुपूर्णिमाको दिन बोलबम यात्रा तथा श्रावणी मेलाको उदघाटन भएको बताउनुभयो ।



साउन महिनाभरी पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा नेपाल तथा भारतका लाखौं भक्तजनले जलार्पण गर्ने गर्दछन् ।
पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा रहेको स्वयं उत्पत्ती शिवज्योतिर्लिङ्गमा साउन महिनाभर जलार्पण गर्ने गरिन्छ । पश्चिमको पशुपतिनाथको नामले समेत पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक बर्ष साउन महिनाभर नेपाल र भारतका लाखौँ लाख श्रद्धालु भक्तजनहरु जलार्पण गर्ने परम्परा छ ।
पहेँलो गेरुवावस्त्र धारण गरि बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिगमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ति हुने, बाढी, पहिरो नदी कटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायाममा लाग्ने बिभिन्न रोग ब्याधीबाट मुक्ति मिल्ने धामका संरक्षक ब्यासाचार्य पण्डित किशोरकुमार गौतम बताउनु हुन्छ ।
ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वको पर्रोहा क्षेत्र बौद्धकालीन ५ शहर मध्ये एक रहेको कुरा प्राचिन ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ ।
श्रावणी जलार्पण यात्रा एवम् जलार्पण कार्यक्रमको उदघाटन समारोहको अध्यक्षता पर्रोहा बोलबम धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवलि चौधरीको अध्यक्षतामा भएको हो ।




