आज साउनको पहिलो सोमवार ।रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा श्रद्धालु भक्तजनको जलार्पण गर्न ठूलो घुइँचो लागेको छ ।
पर्रोहा बोलबम धाममा साउन महिनाको पहिलो सोमबारभएकोले पनि भक्तजनहरुको ठूलो भीड लागेको थियो । पर्रोहा बोलबम धाममा आईतवारदेखि एक महिनासम्म जलार्पण कार्यक्रम सुरु भैसकेको छ भने श्रावणी मेला समेत सुरु भएको छ ।
साउन ६ गते गुरु पूर्णिमादेखि सुरु भएको बोलबम धाम जलार्पण यात्रा एक महिना अर्थात भदौ ३ गते रक्षाबन्धन जनैपूर्णिमासम्म हुने भएको हो ।
पर्रोहा परमेश्वर शिब ज्योतिर्लिङग बोलबम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पर्रोहा परमेश्वर शिवज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामवली चौधरीले पहिलो सोमबार भएको र विहानैदेखि पानी परेको कारण भक्तजनलाई केही समस्या भएपनि चारवटै ढोकाबाट जलार्पणको व्यवस्था गरेकोले यो बर्ष छिटो छरितोरुपमा भक्तजनले जलार्पण गर्ने अवसर पाएको बताउनुभयो ।



साउन महिनाभरी पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा नेपाल तथा भारतका लाखौं भक्तजनले जलार्पण गर्ने गर्दछन् ।
पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा रहेको स्वयं उत्पत्ती शिवज्योतिर्लिङ्गमा साउन महिनाभर जलार्पण गर्ने गरिन्छ ।
पर्रोहा बोलबम धामका सल्लाहकार आचार्य विष्णु ज्ञवालीले साउनको पहिलो सोमबार भगवान शिवलाई अर्चना गर्नाले सम्पूर्ण मनोकांक्षा पूरा हुने बताउनुभयो । उहाँले साउनको पहिलो सोमबारकै दिन हजारौं श्रद्धालु भक्तजनले लक्ष्मणघाट र त्रिबेणी धामसम्मका तिर्थस्थलबाट गंगाजल उठाई भगवान शिवजीको अभिषेक गर्नुभएको र यसरी जलार्पण गर्दा परिवारमा सुख सम्मृद्धि, धनधान्य, ऐश्वर्य प्राप्त हुने जनविश्वास रहेको बताउनु भयो ।
पर्रोहा बोलबम धामका कार्यालय सचिव हरि शर्मा गौतमले साउनको पहिलो सोमबार भएकोले विभिन्न तीर्थस्थलबाट गंगाजल ल्याएर यहाँ शिब ज्योतिर्लिङ्गमा चढाउने घुईचो लागेको बताउनु भयो । उहाँले अत्याधिक बर्षा भएपनि बोलबम धाममा श्रद्धालुु भक्तजनको घुईचो लागेको र विहान ५ बजेदेखि नै श्रद्धालु भक्तजनले जलार्पण गरिरहेको बताउनु भयो ।
पश्चिमको पशुपतिनाथको नामले समेत पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक बर्ष साउन महिनाभर नेपाल र भारतका लाखौँ लाख श्रद्धालु भक्तजनहरु जलार्पण गर्ने परम्परा छ ।
ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वको पर्रोहा क्षेत्र बौद्धकालीन ५ शहर मध्ये एक रहेको कुरा प्राचिन ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ ।




