नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय पुष्पलालको ४६ औं स्मृति दिवसको अवसरमा सोमबार सैनामैना नगरपालिकाले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
सैनामैना नगरपालिका वडा नंं ९ बाँसगढीस्थित जनचेतना माध्यमिक विद्यालयमा आयोजना गरिएको बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभाका सदस्य भूमिश्वर ढकाल हुनुहुन्थ्यो ।
त्यस अवसरमा बोल्दै ढकालले नेपालको राजनीतिक आकासका दुई तारा वीपी र पुष्पलाल रहेको चर्चा गर्दै उहाँहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानकै कारण आज मुलुक गणतन्त्रको बाटोसम्म आईपुगेको बताउनु भयो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्की, नेपाली कांग्रेसका प्रदेश सदस्य चित्रवहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका सैनामैना संयोजक राजबहादुर क्षेत्री लगायतले बोल्दै वीपी र पुष्पलालकै कारण नेपालमा प्रजातन्त्रको जग बसेको र त्यही जगमा २०४६ सालको ऐतिहासिक जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्य भएको बताउनु भएको थियो ।
सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले बृक्षारापण कार्यक्रममा स्वागत गर्नुभएको थियो भने संचालन नेकपा एमाले सैनामैनाका सचिव तथा सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धीराम चौधरीले गर्नुभएको थियो ।
सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले नगर प्रमुखमा बिजय भएपछि दलीय राजनीतिबाट माथि उठेर हरेक बर्ष वीपी र पुष्पलालको स्मृति दिवस मनाउने असल राजनैतिक परम्पराको सुरुवात गर्नुभएको थियो ।







