रुपन्देहीको कञ्चन गाउँपालिकामा यही भदौ ५ गतेबाट संचालन हुने प्रथम गौतमबुद्ध कप ए साइड नकाउट फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । गौतमबुद्ध सामुदायिक बिकास केन्द्र कञ्चन ५ पिपरीचापा रुपन्देहीले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
रुपन्देहीको कञ्चन गाउँपालिका हरेक खेलकुदका लागि हब बन्दै गइरहेको र गौतमबुद्ध सामुदायिक बिकास केन्द्रले हरेक बर्ष खुल्ला नकआउट फुटवल प्रतियोगिता संचालन गर्दै आइरहेको सन्दर्भमा यस बर्ष देखि प्रतियोगितालाई टाइटल दिएर फुटवल प्रतियोगितालाई व्यबस्थित गर्न लागेको केन्द्रका अध्यक्ष कमल परियारले जानकारी दिनु भयो ।
महिलाहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर संचालन गर्न लागिएको प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने र उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने अध्यक्ष परियारले जानकारी दिनुभयो । यसैगरी बिधागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्ड, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियामन खेलाडीको समेत छनौटगरी ट्रफी र नगद पुरस्कार प्रदान गरिने प्रतियोगितामा करिब ११ लाख रुपैया भन्दा बढी खर्च हुने पुर्वानुमान रहेको अध्यक्ष परियारले जानकारी गराउनु भयो ।
प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन स्थानीय तथा देश बिदेशमा रहेका फुटवल प्रेमी, स्थानीय संघ संस्थाहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको र स्थानीय सरकारको रुपमा रहेका वडा कार्यलय र पालिकाबाट आर्थिक सहयोगको आश्वासन भएको बताइएको छ ।
प्रतियोगिता यही भदौ ५ गते देखि २० गतेसम्म कञ्चन ५ स्थित पिपरीचापामा रहेको खेलमैदानमा संचालन हुने आयोजकले जनाएको छ ।







