रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सैनामैना नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीका लागि बक्तृत्वकला प्रतियोगिता तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तब्य राख्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले तिज भन्ने वित्तिकै नाच्ने, गाउने र खाने कार्यक्रम धेरै हुने गरेको बताउँदै तिजको अवसरमा महिलाहरुमा जागरण ल्याउने कार्यक्रम, महिला अधिकारका कुरा, महिलामाथि भएका विभेदका कुराहरु विरुद्ध कार्यक्रम गरेको पाईदैन तर सिकाई केन्द्रले दर खाने कार्यक्रममा पनि रचनात्मक कार्यक्रम गरेकोमा प्रशंसा गर्नुभयो ।
गोरखनाथ सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष लता खडकाले महिलाहरुलाई कसरी साक्षर बनाउने र कसरी हाम्रो देशमा साक्षरता दर बृद्धि गर्दै शिक्षाको ज्योति फैलाउने भन्ने उद्देश्यले बक्तृत्वकला प्रतियोगिता गरेको बताउनुभयो । उहाँले आफूहरुको मूल उद्देश्य भनेकै समाज परिवर्तन गर्नु हो भन्दै त्यसका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।



सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा क्याम्पसका प्रमुख हेमबहादुर थापा, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासे र सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोखरेलले सामुदायिक सिकाई केन्द्रले दरखाने कार्यक्रमका साथै बक्तृत्वकला जस्तो रचनात्मक कार्यक्रम गरेको भन्दै यस प्रकारका कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने बताउनुभयो ।




