सैनामैना, ९ कार्तिक ।
सैनामैना नगरपालिका ८ मा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाको शनिवार हुने भनिएको सातौं अधिवेशन विवादमा परेको छ ।
अधिवेशनका लागि गठन गरिएको निर्वाचन समिति नै अवैध भएको भन्दै सहकारी डिभिजन कार्यालय रुपन्देही, प्रदेश सहकारी डिभिजन कार्यालय र सैनामैना नगरपालिका र सहकारी संस्थामै निवेदन परेको छ ।



निवेदनमा शनिवार हुने अधिवेशन स्थगित गरि बिधानसम्मत निर्वाचन समिति गठन गरेर मात्र अधिवेशनको मिति तोक्न माग गरिएको छ ।
अध्यक्षका प्रत्यासी कृष्णप्रसाद पोखरेलले संचालक समितिले विधान विपरित निर्वाचन समिति गठन गरि शनिवारको अधिवेशन नै प्रभावित गर्न खोजेको बताउनु भयो ।
बिधानमा निर्वाचन समिति गठन प्रकृयाको प्रावधानमा सहकारी डिभिजन कार्यालयको एकजना प्रतिनिधि संयोजक र अन्य चारजना सदस्य रहने उल्लेख छ । तर, सहकारीले विधान विपरित सहकारी सदस्यलाई नै निर्वाचन समितिको संयोजक तथा सदस्य तोकी निर्वाचन गराउन खोजेपछि विवाद उत्पन्न भएको हो ।
उता सहकारीका अध्यक्ष पदम पाण्डेले २०७५ सालमा भएको साधारण सभामा विधान संशोधन गरेर निर्वाचन समितिको विद्यमान व्यवस्था परिवर्तन गरेको दावी गर्नुभयो ।
तर, साधारण सभामा उक्त प्रस्ताव लेखिएपनि साधारण सभाले निर्णय भने नगरिएको फेला परेको छ ।
सहकारीको विधान संशोधन गर्दा साधारण सभाले पारित गरि प्रदेश डिभिजन सहकारी कार्यालयले प्रमाणित गरेपछि मात्र विधान लागू हुन्छ ।
सहकारीले भने उक्त प्रकृया पूरा नगरेको भन्दै अध्यक्षका प्रत्यासी पोखरेल र कोषाध्यक्षका प्रत्यासी हेमन्त भट्टराईले अवैधानिक तबरले गर्न लागेको निर्वाचन बदरको माग सहित निवेदन दिएको बताउनुभयो ।




