२८ कात्तिक, बुटवल । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु गरिएको छ ।
मंगलबार दिउँसो भैरहवा ल्याएका लामिछानेसँग मौखिक प्रश्न सोधिएकोमा आज बिहान साढे १० बजेदेखि लिखित बयान लिन सुरु गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।



लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।
‘जिल्ला प्रहरीले तयार गरेका र त्यसमा सरकारी वकिल कार्यालयले थपेका गरी कम्तीमा ५० वटा लिखित प्रश्न सोधिनेछ’, जिल्ला प्रहरी कार्यालयकी सूचना अधिकारी डीएसपी लक्ष्मी खनालले भनिन्, ‘हाम्रा प्रश्न र उहांले दिएका उत्तरमा चित्त नबुझे क्रस क्वेस्सनहरु थपिँदा ५० भन्दा बढी हुन सक्छ ।’




