नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखाको आयोजनामा आजिवन सदस्यहरु बीच अन्तरक्रिया तथा अटिजम सम्बन्धि सचेतना कार्यक्रम सैनामैनामा शनिवार सम्पन्न भएको छ ।
पर्राेहा सामुदायिक वन उपभोक्ता समूहको सभाहल मुर्गियामा भएको कार्यक्रममा बोल्दै सैनामौ नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अटिजम रोग गरिव तथा बिपन्न परिवारका बालबालिकामा भन्दा समाजमा सम्पन्न परिवारका बालबालिकामा बढी हुने गरेको बताउनुभयो ।



उहाँले यही कारणले अटिजम हुन्छ भन्ने कुनै ग्यारेन्टी नहुने बताउँदै अटीजम विभिन्न कारणले हुने भएकोले अटिजमबाट बच्न पूर्व सावधानी अपनाउनु पर्ने बताउनुभयो ।
सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै सरकारले बजेट बढाउनुभन्दा स्वास्थ्य क्षेत्रमा त्यो पनि बालबालिकाको जीवनसंग जोडिएको अटिजम रोगको निदान र नियन्त्रणमा पनि बजेट बढाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखा अध्यक्ष मीना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अटिजम रोग सम्बन्धि सचेतनामूलक जानकारी डाक्टर शान्ता शर्माले दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखा सचिव थानेश्वर न्यौपानेले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रममा उपसभापति दिब्या पंगेनीले स्वागत गर्नुभएको थियो । सोही अवसरमा मायादेवी गाउँपालिकाका स्वास्थ्य शिक्षा अधिकारी स्वास्थ्यकर्मी भोजराज पोखरेलले अटिजम रोगले पार्ने प्रभावका बिषयमा जानकारी गराउनु भएको थियो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखाका पदाधिकारी तथा आजिवन सदस्यहरु बीच रेडक्रसको आगामी भूमिकालाई अझै सशक्त बनाउन आगामी दिनमा के गर्न सकिन्छ भन्ने बिषयमा समेत अन्तरक्रिया गरिएको थियो ।




