अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।आइतबार छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेको नेतृत्वमा छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ र ६ भित्रका होटल, गल्ला किराना, फेन्सीकपडा, फलफूल तथा तरकारी पसलहरु, मासु पसल लगायतका पसलहरु अनुगमन गरेको छ ।
अनुगमनको क्रममा केहि पसलहरु दर्ता नगरी संचालन गरिएको, पसलहरुमा म्याद गुज्रेका खाद्य सामाग्रीहरु राखिएको भेटिएको थियो । यसरी दर्ता नगरी संचालन गरिएका ब्यवसायीलाई ७ दिन भित्र दर्ता गर्न आग्रह गरिएको छ भने म्याद गुज्रेका सामाग्रीहरुलाई नस्ट गरिएको छ।
त्यसैगरी दर्ता नगरी अबैधरुपमा राखिएको मदिरालाई नियन्त्रण लिई सबैको रोहवरमा गाउँपालिकामा ल्याएर राखिएको छ ।



अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका उद्योग अधिकृत दुर्गा न्यौपाने, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका लेखापाल ओमप्रकाश श्रेष्ठ, छत्रदेव गाउँपालिका घरेलु शाखा प्रमुख कृष्णप्रसाद पन्थी, अर्घातोष प्रहरी चौकी प्रमुख रामअचल यादव, उद्योग बिकास सहजकर्ता खडानन्द भुसाल, पत्रकार केशब पन्थी लगायतको सहभागीता रहेको थियोे ।




