लुम्बिनी बौद्ध विश्वविद्यालय वार्षिकोत्सव तथा दीक्षान्त समारोहको तयारीमा जुटेको छ । विश्वविद्यालयको गत भदौंमा सम्पन्न १६ औं सभाको बैठकले मंसिर १४ गते लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार विश्वविद्यालयले दीक्षान्त समारोहको तयारी गरिरहेको हो । विश्वविद्यालयले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०औं वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह र १७ औं सभाको बैठक गरिने जानकारी दिएको हो ।



प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा वार्षिकोत्सव, दीक्षान्त समारोह र सभाको बैठक हुने विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले जानकारी दिनुभयो ।
विशेष दीक्षान्त समारोह लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनीमा हुनेछ । सभाको बैठक भने विश्वविद्यालयको सिनेट हलमा हुनेछ । विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित हुनेछन् । साथै विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधि उपाधि समेत प्रदान गर्दैछ ।
बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउनु भएकी भिक्षुणी धम्मावती (गणेश कुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने सभाको निर्णय बमोजिम विशेष दीक्षान्तमा उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको रजिष्ट्रार डाक्टर तिलक आचार्यले जानकारी दिनुभयो । दीक्षान्त समारोहमा विशेष अतिथिका रुपमा म्यानमारका भिक्षु सितगो सायडोको उपस्थिति समेत रहनेछ ।
वार्षिकोत्सवको अवसरमा मंसिर १३ गते बुटवल सिटी क्याम्पस बुटवलमामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मंसिर १५ गते ‘शान्ति निर्माण र दिगो विकासका लागि गौतमबुद्धका शिक्षाहरू अन्वेषण’ विषयक अन्तर्राष्ट्रिय सेमिनार हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले जानकारी दिनुभयो ।
भगवान् गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रुपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्ने उद्देश्यका साथ २०६१ साल मंसिर १४ गते विश्वविद्यालयको स्थापना भएको हो ।




