बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुर ब्यवस्थापनका लागि निःशुल्क बन्ध्याकरण शिविर सुरू गरेको छ । प्राणघातक रेबिज रोग नियन्त्रण र छाडा कुकुरको ब्यवस्थापनको लागि भन्दै उपमहानगरपालिकाले बन्ध्याकरण शिविरको आयोजना गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. ११ को नयाँ वडा कार्यालयको भवनमा शनिबारदेखि बन्ध्याकरण शिविर सुरु भएको हो । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा कुकुरको नियन्त्रण गर्दै प्राण घातक रेबिज रोग नियन्त्रणको लागि बन्ध्याकरण शिविरको आयोजना गरिएको बताउनु भयो । घर पालुवा कुकुरको समस्या पनि बुटवलमा बढ्दै गएको बताउँदै उहाँले घर पालुवा कुकुर ब्यवस्थापनको लागि पनि उपमहागरले मापदण्ड ल्याउने तयारी गरेको जानकारी दिनुभयो भयो । धनीले कुकुरलाई मर्निङवार्कको नाउमा जहाँपायो त्यहाँ दिशापिसाब गराउँदा फोहोर र रोगको संक्रमण फैलिने डर पैदा भएकाले यसको नियन्त्रणको लागि मापदण्ड ल्याउने तयारी गरिएको मेयर पाण्डेयले बताउनु भयो । शिविरमा सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरणको ब्यवस्था मिलार्ईएको उहाँले बताउनु भयो ।
यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले छाडा कुकुरले गर्दा सडकमा हिड्ने यात्रुले हैरानी खेप्नु परेको र बन्ध्याकरणको माध्यमबाट निस्तेज गरिनुपर्ने बताउनु भयो । यस्तै पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक डाक्टर गृहमणी न्यापानेले सन् २०३० सम्म रेबिज निर्मूलन पार्न विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार सामुदायिक कुकुरहरुको बन्ध्याकरण र रेबिज बिरुद्धको खोप अभियान सञ्चालन भईरहेको बताउनु भयो । कुकुरको संख्या बढ्दै जाँदा प्राणघातक रेबिज रोगको संक्रमण बढ्दै गएको र कुकुरको संख्या नियन्त्रणको लागि बन्ध्याकरण उपायनै उपयुक्त भएको उहाँले बताउनु भयो । मंसिर १४ गतेदेखि १९ गतेसम्म बुटवलमा बन्ध्याकरण शिविर सञ्चालन गरिने उपमहानगरपालिकाका पशुचिकित्सक झबिन्द्र बञ्जाडेले जानकारी दिनुभयो । समुदायमै पुगेर कुकुरालाई नियन्त्रण गरेर १२ घण्टा होल्डिङ् सेन्टरमा राखेर बन्ध्याकरणसँगै रेबिज बिरुद्धको खोप दिईएको उहाँले जानकारी दिनुभयो । शिविरमा ३०० भन्दा बढि सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा सिद्वार्थनगरको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।







