सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्नका लागि ओभरलोड र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने यातायात व्यवसायीले माग गरेका छन ।
भारतीय गाडीहरुले निर्वाधरुपमा ओभरलोड बोक्दा नेपाली सडक, पुलपुलेसा र नेपाली ट्रक व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुले गुनासो समेत गरेका छन ।



पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीका अगुवाहरुले कानुन बिपरित ओभरलोड बोक्न नपाइने भएपनि सोको नियम नहुँदा व्यवसायी मारमा परेको बताएका छन । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्पन भएको बताउनु भयो ।
उहाँले यातायात व्यवसायीमुखी नीति नहुंदा व्यवसायीले वर्षौदेखि समस्या भोग्दै आउनु परेको उल्लेख गर्दै यातायात व्यवसायी विस्थापित हुंदापनि सरकारले न्याय दिन नसकेको गुनासो गर्नुभयो । ओभरलोड बोक्नु कानुनविपरित भएको बताउंदै ओभरलोड बोक्ने गाडीलाई अब सडकमै सामानझारेर कारवाही गर्नुपर्ने र त्यसकालागिमहासंघ प्रतिवद्वभएर लागि परेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा ट्रक तथा यातायात व्यवसायीलाई पार्किङको समस्या भएको बताउंदै जग्गाको खोजी गरेर पार्किङलाई व्यवस्थित गराउन सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले व्यवसायीको हित र संस्थाको संस्थागत विकासका लागि काम भैरहेको बताउनु भयो ।
साधारण सभाले महासचिव खिमबहादुर थापाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शंकरप्रसाद लम्सालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहितपारित गरेको छ ।




