१० करोडको आर्थिक कारोबार र करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षाका साथ बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ गर्न लागिएको हो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिव्य संघ रुपन्देहीले सोमबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।



बटुवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा यो मेलाको आयोजना गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि र पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहनेछन् ।
मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम हुनेछन् । १६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागि हुने छन् ।
मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागि परेको कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैया टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै जेष्ठ नागरिक, असक्त, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाईएको पनि उहाँले जानकारी गराउनु भयो ।




