गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमू ल्होसार’ मनाएका छन । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमू ल्होसार मनाउने चलन रहेको छ ।
काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भएर यहाँ बस्ने तमू (गुरुङ) समुदायका व्यक्तिहरु आफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेल लगायत देशका विभिन्न स्थानमा भेला भएर तमु ल्होसार मनाएका छन ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।



यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त देश भएकोले तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो पर्वले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो ।




