रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन ।
नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध बुटवल लगायतका बजारमा आउँदा आफूहरुले उत्पादन गरेको दुध विक्री तथा बजारीकरणमा समस्या भएको किसानहरुको गुनासो छ ।



आफूहरुले गुणस्तरयुक्त दुध बजारमा विक्रीका लागि पठाएपनि उपभोक्ताले दुधको गुणस्तर चिन्न नसक्ने लगायतका कारण सैनामैना क्षेत्रका दुध उत्पादक किसानलाई मर्का परेको किसानहरुको गुनासो छ । शुक्रबार सैनामैनाको वडा नंं १० मा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरि किसानहरुले भोग्नुपरेको समस्याका बिषयमा जानकारी दिएको हो ।
सहकारीका अध्यक्ष तिलकराम घिमिरेले भारतबाट आउने सस्तो गुणस्तर नभएको दुध बजारमा आउँदा नेपाली दुध उत्पादक किसान मर्कामा परेको बताउनु भयो । उहाँले दुध विक्री वितरण गर्ने नेपालका ठूला पार्टीहरुले भारतको दुई नम्बरी बाटो पत्ता लगाएर भारतबाटै पाउडर दुध भित्राएर नेपाली दुध उत्पादक किसानलाई मर्कामा पारेको बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷०८० देखि किसानले पाउने प्रतिलिटर दुई रुपैया अनुदान रकम समेत काटेको बताउँदै सैनामैना नगरपालिकाले समेत दिने अनुदान अत्यन्त कम भएको गुनासो गर्नुभयो ।
उहाँले आफूहरुको सहकारीबाट दैनिक ४ हजार ५ सय लिटर दुध उत्पादन हुँदै आएकोमा विक्रीमा समस्या आएकोले किसानबाट थप दुध किन्न नसकिएको बताउनुभयो । त्यसैगरी कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष टिकाराम पाण्डेले दुग्ध उत्पादक किसानको समस्या बर्षौंदेखि यथावत रहेको बताउँदै अहिलेसम्म कुनैपनि सरकारले सुनुवाई नगरेको गुनासो गर्नुभयो ।
उहाँले किसानलाई राज्यले हेला गर्दा नेपाल बाहिरको दुधले बजार लिने अवस्था समेत उत्पन्न भएको गुनासो गर्नुभयो । उहाँले नेपाली दुध उत्पादक किसानलाई राज्यकै अंग डिडिसीले नै अन्याय गर्दै आएको सुनाउनु भयो ।
दुग्ध उत्पादनमा जोडिएका सालझण्डी क्षेत्रका किसानले सैनामैना नगरपालिकाले समेत दुध उत्पादक किसानलाई कुनैपनि खालको प्रोत्साहन नदिएको बताउँदै दुधको मूल्य नपाउँदा समस्या भएको बताएका छन । उनीहरुले उत्पादन लागत बढ्दै गएको, पशु विमा गरेपनि बिमाको एक बर्षसम्म नपाएको, पछिल्लोसमय दुध विक्रीका लागि समस्या हुन लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन । अरुका लागि सिंहदरबार घरघरमा आएको भएपनि किसानहरुका लागि भने केही नभएको किसानहरुको गुनासो छ ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले सैनामैना नगरपालिकाले किसानलाई उत्पादनका आधारमा दुधमा अनुदान दिएपनि त्यो प्रभावकारी नभएकोले आगामी दिनमा अनुदान बढाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले स्थानीय सरकार आएपछि केही न केही सुधार भएको बताउँदै राज्य नै अहिले कमजोर भएको अवस्थामा किसानका समस्या समाधानमा ढिलाई भएको उल्लेख गर्नुभयो । उहाँले विश्व अर्थतन्त्रमा संसारकै पाँचौ नम्बरमा रहेको भारतसंग प्रतिष्पर्धा गर्न भने गाह्रो रहेको अवस्थाका कारण नेपाली किसानका समस्या समाधानमा जटिलता रहेको औंल्याउनु भयो ।
सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलकराम घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लेखा समिति संयोजक तथा साझा टेलिभिजन एचडिका स्टेशन म्यानेजर नविन घिमिरेले पनि बोल्नुभएको थियो भने कार्यक्रमको संचालन सहकारीका संचालक समिति सदस्य विकास रेग्मीले गर्नुभएको थियो ।




