लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताउनु भएको छ । दाङको गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुको जीवनस्तर सुधार्न प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेको बताउनु भएको हो ।
गढवा गाउँपालिकाले गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरेको छ ।
प्रदेश सरकारले आगामी वर्ष धेरै पालिकासँग साझेदारी गरेर किसानहरूको जीवनस्तर उकास्न कार्यक्रम अघि बढाउने जानकारी समेत दिनु भयो । उद्यमी महिलाहरूलाई पनि उत्पादन प्रक्रियामा समावेश गराई आत्मनिर्भर बनाउन सरकारले विशेष प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो।



उत्पादन भएका कृषिजन्य उपजको बजारीकरण गर्न संकलन केन्द्रहरू उपयोगी हुने र आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमहरू महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष बावुराम अधिकारी, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य लगायतले सम्बोधन गर्दै किसानहरूलाई आत्मनिर्भर बनाउन र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको थियो ।




