पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८ किमी सडक कालोपत्र भएको छ ।
आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १० किमी सडक कालोपत्र हुन बाँकी छ ।
तनहुँमा २० किमी र कास्कीमा १८ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १० र कास्कीमा ४ किमी र तनहुँमा दुई लेन ७ किमी र कास्कीमा ६ किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिनुभयो ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो ।
कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडा लगायत खण्डमा कालोपत्र भइसकेको छ ।
तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिनुभयो ।







