साउदी अरवको पश्चिम क्षेत्र जिजान आरामको रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ । माघ १४ मा सडक दुर्घटनामा परी १५ जनाको ज्यान गएको थियो ।
जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार मृत्यु हुने नेपाली श्रमिकमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना रहेका छन् । दुर्घटनामा मृत्यु हुनेमा तीन नेपालीका अतिरिक्त ९ जना भारतीय र तीन जना घानाका नागरिक रहेका थिए ।



२६ जना श्रमिक सवार भ्यान र ट्रेलर एकापसमा ठोक्किंदा दुर्घटना भएको हो । साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको र उनको जिजानको बाइस अस्पतालमा उपचार भइरहेको छ । ती श्रमिक अरबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पाेरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा काम गर्थे ।




