लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले सोमबार प्रदेश राजधानी दाङ देउखुरीमा संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो ।
लुम्बिनी प्रदेश स्थापना दिवसको उदघाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्थानै संघीय शासन व्यवस्था भएको बताउनु भयो । उहाँले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनता भन्दा माथि कोही नहुनेमा जोड दिनुभयो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको बताउनु भयो ।
सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।
नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको विचमा साझा प्रतिबद्धता चाहिने बताउनु भयो ।
पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफुलाई अब्बल सावित गर्न अझैं ऐतिहाँसिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रदेश स्थापना दिवसमा ११ वटा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । जस मध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेका थिए ।







