नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गर्नुभएको छ ।
मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब जनतातिरै फर्कने कसम आफूले खाएको पनि दाबी गर्नुभयो ।
‘हामी माओवादीहरूलाई पहिलो चोटी जनताले अपार विश्वास गरेकै हो । कांग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो । हामीलाई तपाईंहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो,’ प्रचण्डले सम्बोधनको क्रममा भन्नुभयो ।
उहाँले सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको दाबी गर्नुभयो ।
‘प्रचण्ड’ ले पार्टीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देशव्यापीरुपमा जागरण अभियान सञ्चालन गरेको पनि बताउनुभयो ।
आफू तेस्रोपटक १८ महिना प्रधानमन्त्री हुँदा मुलुकमा सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेका कदमलाई जनतामा स्थापित गर्न माओवादीले देशव्यापी रुपमा खबरदारी सभामार्फत अभियान सञ्चालन गरेको बताउनुभयो।
सरकारको नेतृत्व गर्दा दुई ठूला शक्ति देशसँग सन्तुलित सम्बन्ध बनाएको उहाँको दाबी छ । सरकारमा हुँदा भएका राम्रा कामलाई लिएर पार्टी जनतासमक्ष आएको उहाँको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले विगतमा आफ्नो तर्फबाट केही गल्ती भएको र अहिले निर्मम भएर त्यसलाई सच्याएर फेरि जनताका माझ फर्किएको बताउनुभयो । विगतका गल्ती कमजोरी सच्याउँदै पार्टीलाई बलियो शक्ति बनाउने सङ्कल्प लिएर जनतामा फर्किएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
सरकारबाट हटेपछि हिमाल, पहाड र मधेशमा पुग्दा माओवादीलाई जनताको साथ भएको उहाँले दाबी गर्नुभएको छ ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले म्याग्दीमा सुरु भएका विकास योजनालाई पूर्णता दिन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो ।







