सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा मनपरी लेख्ने र मनपरी गर्ने प्रवृत्ति बढेपछि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरेको बताउनु भएको छ ।
नेपाल टेलिकमको वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मनपरी लेख्न र बोल्न पाउने कुरा लोकतन्त्र नहुने बताउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अराजकता स्वीकार्य नहुने जिकिर गर्नुभयो ।
उहाँले सरकार जनताको सुसूचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सचेत रहेको समेत उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले कुनैपनि सामाजिक सञ्जाल सरकारमा दर्ता नभए प्रतिबध लगाउँने चेतावनी समेत दिनुभयो ।
उहाँले सबै कानून अनुसार चल्नुपर्ने भएकाले दर्ता गर्न नआउने सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने बताउदै फेसबुकको मातृ संस्था मेटालाई समेत दर्ता गर्न आग्रह गरिएको र नआए प्रतिवन्ध लगाउने चेतावनी दिनुभयो ।
यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभइ नियमन गर्न खोजिएको बताउनुभयो ।
बुधबार अनलाइन टिभी पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू नियममा बस्नु पर्ने बताउनुभयो ।







