पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ । सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फाल्गुन ३ गते गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।
पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्राउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो–‘विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’



घोषणा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुल आयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ ।
घोषणा सभामा तीनवटै सरकारको सहभागिता हुने आचार्यले बताउनुभयो ।




