सैनामैना १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलले मंगलबारदेखि वार्षिक खेलकुद सप्ताह शुभारम्भ गरेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित सुरु भएको खेल सप्ताहको सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले उदघाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि रानाले खेलकुदमा सहभागी विद्यार्थी र आयोजक विद्यालयलाई शुभकामना व्यक्त गर्दै सबै विद्यार्थी र विद्यालयले शैक्षिक क्रियाकलाप संगै खेलकुद लगायत अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिनुपर्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि विद्यार्थीको क्षमता र रुचि हेरेर विद्यालयले त्यस्ता खालका कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक सौगात भट्टराईले विद्यालयको वार्षिक कार्ययोजना अनुसार हरेक वर्ष आयोजना गरिने यस्ता खेलकुद कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको शारीरिक सशक्तिकरण र खेलकुदको महत्वलाई बुझाउनु रहेको जानकारी दिनुभयो ।
उहाँले यस प्रकारको खेलकुद कार्यक्रमलाई एउटा उत्सब र अवसरको रुपमा लिनुपर्ने र सबै विद्यार्थीले अनुशासन कायम गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्तबहादुर पुनको विशिष्ट आतिथ्यता, सदस्यद्वय इश्वरीप्रसाद पोख्रेल, बिमला थापा, कल्पना कुँवर र तिलक थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
विद्यालयको प्रधानाध्यापक सौगात भट्टराईको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम विद्यालयका शिक्षक प्रकाश पन्थको सन्चालनमा भएको हो ।
विद्यालयको वार्षिक खेलकुद सप्ताह फागुन २ गतेसम्म सञ्चालन हुने बताइएको छ भने विद्यालयका खेल शिक्षक बिनोद सुर्यबंशीको संयोजनमा खेल सप्ताह सम्पन्न हुने विद्यालयले जनाएको हो ।







