रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा यही फागुन ४ देखि १० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै युवा सञ्जाल सैनामैना ५ का अध्यक्ष राजेन्द्र घिमिरेले प्रतियोगिता आयोजना गर्नुको उद्देश्यबारे बताउँदै स्थानीय खेलाडीको उत्पादन, प्रोत्साहन र खेल नै युवाहरुलाई अगाडी बढाउने माध्यम भएकोले प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।
उहाँले सैनामैनाका खेलाडीहरुलाई खेलका माध्यमबाटै प्रोत्साहन गर्ने मूख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । युवाहरु विभिन्न कुलतमा लागिरहेको अवस्थामा खेलकुदले युवाहरुलाई सही मार्गमा ल्याउन सहयोग गर्ने उहाँको विश्वास छ ।



पत्रकार सम्मेलनका अवसरमा खेल प्रतियोगिताका संयोजक रेवन्तबहादुर सिंजालीले प्रतियोगितामा सैनामैनाका वडा नं. १ देखि ११ वटै वडा र आयोजकको टिम गरि १२ टोलीको सहभागिता हुने बताउनु भयो । उहाँले प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिका र देश तथा विदेशबाट समेत सहयोग आएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, अर्थ व्यवस्थापन, ट्रफी अनावरण, जर्सी सार्वजनीक तथा खेल तालिका सार्वजनिक गरिएको थियो ।
फागुन ४ गते देखि १० गतेसम्म सैनामैनाको बक्सडस्थित कोटिया खेल मैदानमा हुने छ ।
प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर ४ र वडा नम्बर ८ खेल्ने आयोजकले जनाएका छन ।
प्रतियोगिता अवधिभर ८ हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको हो ।




