भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । रुपन्देहीको बुटवल निवासी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको हो ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थी लम्सालको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गरेपछि कलेज प्रशासनले दमन गरेको छ ।



कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको एक विद्यार्थीले बताए । घटनाबारे छानबिन गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेपछि प्रशासनले त्यसलाई दबाउन कलेजबाट निकालेको जनाएका छन ।
विद्यार्थीका अनुसार कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत् थिए ।
लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुव्र्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।
आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुने खबरमा उल्लेख छ ।
सामाजिक सञ्जालमा समेत प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि दमन गरिएको भिडियोहरु भाइरल भइरहेका छन् ।




