सैनामैना नगरपालिका १ रानीबगियामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । सैनामैनाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा रहेको यो विद्यालय ५१ वर्षअघि २०३१ सालमा स्थापना भएको थियो । विद्यालयमा अहिले सेक्टर वान र टू गरि दुई स्थानमा कक्षा सञ्चालनमा छन् ।
५१ औं बार्षिकोत्सवको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरुको उच्च अध्ययनमा ध्यान दिदै पढाउँदै कमाउँदै जानेखालको अभ्यास र व्यावसायीक शिक्षामा प्रवद्र्धन तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट बनेर अघि बढिरहेको बताउँदै पुरस्कृत हुने सवैमा बधाई दिनुभयो । उहाँले हरेक बिषयको उत्कृष्टताले हामी सवैलाई हौसला दिने बताउनुभयो ।



बार्षिकोत्सवको अवसरमा विद्यालयमा रहेका करिब २७ सय विद्यार्थीलाई कक्षागत प्रतियोगितामा विभिन्न विद्यामा प्रतिस्पर्धा गराइएको प्रधानाध्यापक पुरीले बताउनुभयो ।
बार्षिकोत्सवको अवसरमा पूर्व शिक्षक, उत्कृष्ट शिक्षक, अक्षयकोष दाता, एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा विद्यार्थीहरुले खाना महोत्सव समेत आयोजना गरेका थिए । कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव गरेको संयोजक नारायण शर्माले जानकारी दिनुभयो ।
बार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले सिक्दै कमाउँदै अभियान अन्तरगत विद्यार्थीहरु आफैले पञ्चे बाजा बजाएर अतिथिहरुलाई स्वागत गरेका थिए । यस्तै सांस्कृतिक कार्यक्रमहरुमा भजन र लोकनृत्य समेत प्रस्तुत भएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १ का वडा सदस्य प्रेम भुसाल, शहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पसका प्रमुख हेमबहादुर थापा, कांग्रेसका नेता गोविन्द लम्साल र राष्ट्रिय स्वतन्त्र पार्टीका सैनामैना अध्यक्ष राजबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक नेत्रलाल पुरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।




