प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन बनेको छ ।
आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो ।



जवाफी ब्याटिङ गरेको दाङ ३२ ओभर ५ बलमा १ सय ८ रन बनाउँदा अलआउट भयो ।
विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया, संघका उपाध्यक्ष विनयराज भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सम्पन्न भएको हो ।




