बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाईस्कुलले रुपन्देही शुद्धोधनका चारजना किसानलाई सम्मान गरेको छ ।
किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार र मुल्य दुबै नपाएको भन्दै दीप बोर्डिङ हाईस्कुलले विद्यालयमै कार्यक्रम गरेर सोमबार किसानलाई सम्मान सहित प्रोत्साहन गरेको हो ।
शुद्धोधन–१ बेलवाका चार किसानले उत्पादन गरेको बन्दागोवी विद्यालय परिसरमा ढुवानी गरेर उनीहरुको उत्पादनको सहि मुल्य दिइएको विद्यालयले जनाएको छ ।



कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, विद्यालयका प्रिन्सिपल टिकाराम न्यौपानले बेलवाका किसान शिवकरण मल्लाह, अध्या मल्लाह, उमेश मल्लाह र राममिलन लोधलाई दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गर्नुभएको हो ।
किसानलाई सम्मान गर्दै वडाध्यक्ष पंगेनीले विद्यालयले सुरु गरेको किसान सम्मान कार्यक्रमले राज्यलाई पनि किसान सम्मान गर्नुपर्दछ भन्ने सिकाई हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रिन्सिपल टिकाराम न्यौपानेले समय समयमा किसानलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको उल्लेख गर्दै किसानले उत्पादन गरेको बस्तुले बजार र मुल्य दुबै नपाउँदा दुःख लाग्ने गरेको बताउनुभयो ।
उहाँले रुपन्देहीका किसानका लागि केही भएपनि प्रोत्साहन र हौसला मिलोस भनेर विद्यालयमा किसानको उत्पादन विक्री वितरण कार्यक्रम र किसान सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
विद्यालयका शिक्षक विजय सापकोटाको संचालनमा भएको कार्यक्रममा ब्यवसायी मेघनाथ पौडेल, किसान राममिलन लोध, विद्यालयका उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्र कुमार शाक्य लगायले किसानले उत्पादन गरेको बस्तुले सही बजार र मुल्य पाउनु पर्ने सुझाव दिनुभएको थियो ।
शुद्धोधन बेलवाका किसानले खरिद गरेको साढे १२ हजार बरावरको गोवी विद्यालयले खरिद गरेर विद्यार्थी, शिक्षक, कर्मचारीलाई वितरण गरेको थियो ।
किसान सम्मान कार्यक्रम अन्तरगत बुटवल उपमहानगर वडा नम्बर–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीको समन्वयमा १२ हजार ५ सय र दीप बोर्डिङले १२ हजार ५ सय गरि २५ हजार वरावरको आर्थिक सहयोग गरिएको विद्यालयले जनाएको छ । यसभन्दा अगाडि पनि विद्यालयले २०७५ सालमा चितवनका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको खरिद गरि किसान सम्मान कार्यक्रम गरेको थियो ।




