प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले पूर्व राजाको चर्चादेखि दुर्घटनाका घटना बढ्दै गएको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सरकारसंग माग गर्नुभयो ।
उहाँले धुलिखेलमा भएको बस दुर्घटना र देशैभरी हुने यस प्रकारको सवारी दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार सरकारले निसर्त निःशुल्क गर्ने प्रवन्ध गर्न पनि आग्रह गर्न गर्नुभयो ।
मंगलबार बिहान धुलिखेलमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । उक्त विषय संसदमा अन्य सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराउँदै घाईतेको निशुल्क उपचार गर्नुपर्ने आवाज उठाएका हुन् । सांसदहरुले नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको उपाय खोज्न सरकारलाई आग्रह समेत गरेका छन् ।



उता नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागु गर्न माग गर्नुभयो ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले गाँजा खेती खुला गर्ने गरी बजेट वक्तव्यमै यो विषय राखेको स्मरण गर्दै बजेट वक्तव्यको ४९ नम्बर बुँदालाई सरकारले यथासक्य चाँडो कार्यान्वयनमा लैजाओस भन्नुभयो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा सरकारले गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने भनेको छ । तर, यो व्यवस्था कार्यान्वयनमा जान सकेको छैन ।
उता नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन भनेको छ ।
मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबाट बोल्दै माओवादी सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताउनुभयो ।
सांसद शर्माले भन्नुभयो– ‘पूर्वराजलाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो ।




