सैनामैनाको सालझण्डीमा रहेको कोटियादेवी माध्यमिक विद्यालयमा जारी श्रीमद भागवत धनधान्याचल ज्ञान महायज्ञ बुधबार समापन भएको छ ।
सप्ताहब्यापी महायज्ञबाट करिव १ करोड ३० लाख रुपैया सहयोग संकलन भएको छ ।
विद्यालयको शैक्षिक स्तरोन्नती, गुणस्तर अभिबृद्धि र जग्गा व्यवस्थापनका लागि आर्थिक सहयोगार्थ आयोजना गरिएको महायज्ञबाट आफूहरुको लक्ष्य पूरा भएको महायज्ञ आयोजक समितिका संयोजक समाजसेवी तिलकराम घिमिरेले बताउनुभयो ।



उहाँले महायज्ञमा श्रद्धालु भक्तजनको उपस्थितिले आफूहरु उत्प्रेरित भएको बताउँदै भक्तजनले राम्रो सहयोग गर्नुभएको बताउनुभयो ।
महायज्ञ समापन कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले कोटियादेवी माध्यमिक विद्यालयलाई यहाँसम्म ल्याई पु¥याउन स्थानीयको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै अव विद्यालयलाई उच्च माध्यमिक हुँदै एउटा गुणस्तरीय विद्यालयको रुपमा स्थापित गर्नेतर्फ महायज्ञले ठूलो सहयोग पु¥याएको उल्लेख गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक विकासका लागि महायज्ञ आयोजना गरेर आयोजकहरुले सफलता हासिल गरेको भन्दै आयोजकहरुलाई पवित्र कामको बधाई दिनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य तथा नेपाली कांग्रेसका नेता फकरुद्दीन खानले जुन लक्ष्य र उद्देश्य राखेर यो महायज्ञ आयोजना गरिएको छ, यो सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले महायज्ञबाट उठेको ठूलो रकम विद्यालयको शैक्षिक उन्नती र प्रगतिका लागि सहयोगी सिद्ध हुने विश्वास ब्यक्त गर्नुभयो ।
महायज्ञमा अन्तर्राष्ट्रिय प्रखर कथाबाचक प्रबीण पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्नुभएको थियो । उहाँले आफ्नो बुबा बाचन शिरोमणी नारायणप्रसाद पोखरेलको स्मृतिमा एक लाक एक हजार एकसय ११ रुपैया सहयोग गर्नुभयो ।
यसैगरी स्थानीय समाजसेवी बद्रीनाथ पाण्डेले महायज्ञमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैया दान सहयोग दिनुभएको छ । त्यसैगरी महायज्ञ आयोजक समितिका संयोजक तिलकराम घिमिरेले महायज्ञमा ५ लाख १८ हजार ३ सय ३४ रुपैयाँ दान सहयोग दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनाखर घिमिरेले विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले सहयोगका लागि महायज्ञ गरिएको र महायज्ञबाट आफूहरुलाई हौसला मिलेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रमेश भुसालले विद्यालयको पूर्वाधार विकासका लागि यो महायज्ञ अत्यन्त सहयोगी र सार्थक सिद्ध भएको सुनाउनु भयो ।




