गुल्मीमा यो वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको हो ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको हो । गत वर्ष २३ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्ष १२ करोड रुपियाँ बराबरको सुन्तला बाहिरी जिल्लामा निर्यात भएकोमा यस वर्ष १३ करोड रुपियाँ बराबरको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो ।



सुन्तलाको उत्पादन बढ्नुमा नयाँ बोटले फल दिन सुरु गर्नु, समय समयमा सुन्तलालाई उचित मलजल गरिनु, समस्या देखिएमा तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नु जस्ता मुख्य कारण रहेको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गङ्गा पोख्रेलले बताउनुभयो ।
यस जिल्लामा ९५ प्रतिशतभन्दा बढी सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाले लामो समयसम्म फल दिन्छन् ।




