रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटवल रंगशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिता आयोजक सैनामैना फुटवल क्लवका खेल संयोजक अशोक खडकाले फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कारको व्यवस्था गरिएको खडकाले बताउनुभयो ।



प्रतियोगितामा डिजेङ्गी फुटबल क्लब सिक्किम भारत, गोरखा ब्वाइज फुटबल क्लब बुटवल, महावीर क्लब काठमाडौं, एपीएफ क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, कपिलवस्तु ११ कपिलवस्तु, अभिषेक चर्च नवलपुर, हनामी बिएफसी चितवन, फर्सटिकट युथ क्लब रूपन्देही र आयोजक मुर्गिया फुटवल क्लब गरि १० टिमको सहभागिता रहनेछ ।
रुपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च लाग्ने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खडकाले जानकारी दिनुभयो ।
प्रतियोगिताको उदघाटन खेल आयोजक मुर्गिया फुटवल क्लव र गोर्खा व्वाईज बुटवलबीच सोमबार दिउँसो हुनेछ ।




