एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ ।
शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती जाफर रजाले रमजानको चन्द्रमा देखिएको घोषणा गरेसँगै आइतबारबाट रमजानको महिना सुरु भएको हो।
मुफ्ती रजाले रमजानको चन्द्रमा देखिएकोले आइतबारबाट एक महिनासम्म रोजा बसेर विविध धार्मिक तथा सामाजिक कार्य गर्न मुस्लिम सुमदायलाई आग्रह गर्नुभयो।
एक महिनासम्म मनाइने रमजान इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण चाड हो। शनिबारबाटै तरावी नमाज सबै मस्जिदमा सुरु गरिएको जामामस्जिद सञ्चालक समितिका प्रवक्ता आलम खानले बताउनुभयो ।
मुस्लिम समुदायको पाँच अतिमहत्त्वपूर्ण धार्मिक कार्य कलमा, रोजा, नमाज, हज, र जकात हुन्।ती मध्ये रोजा पनि भएकोले यसलाई अत्याधिक महत्त्वका साथ मनाइने गरिएको छ ।
घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सेहरी (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ। यो समयलाई रोजा खोल्ने समय भनिन्छ ।
दिनभर पानी लगायत केही पनि खान नहुने यो पर्वमा मुस्लिमले आ–आफ्नो गच्छे अनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन्। रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन।
यो महिनामा नै मुस्लिम समुदायले सबैभन्दा बढी दान गर्ने गर्छन् भने रोजा खोल्ने सामुहिक कार्यक्रम पनि ठाउँ ठाउँमा महिनाभरिनै राख्ने गरिन्छ।







