नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने वताउनुभएको छ ।
उहाँले अवको २०÷२२ महिनाभित्रमा महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट उपगुट सकिने बताउनुभयो ।
रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने समेत दाबी गर्नुभयो ।
नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलायमान बन्दै गइरहेको पनि दावी गर्नुभयो । उहाँले अहिलेको अवस्थामा ५५ वटा बिभाग निर्माण गरी ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको बताउनुभयो ।
उहाँले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था भने नरहेको बताउनुभयो । अध्यादेश संसदमा लैजाँदा पार्टीहरुबिचमा असन्तुष्टि बढ्ने भएकोले सोचेर मात्रै निर्णय लिनुपर्ने उहाँले बताउनुभयो ।



उहाँले भन्नुभयो–“अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसंग छलफल गर्नुभएको थियो तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन ।” उहाँले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भएपनि आवश्यकता महशुस फरक ढंगले भएको बताउँदै यदि हुवहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रकृयामा जाने र पारित हुने तर्क गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको कांग्रेस एमालेको गठबन्धन वनेको उहाँको भनाइ छ ।
उहाँले फरक प्रसंगमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसंग जोडेर गाली गर्ने परम्परा बढ्दै गएको प्रति चिन्ता प्रकट गर्नुभयो ।
उहाँले लोकतन्त्रमा वाक स्वतन्त्रतालाई पूर्वराजाले उच्चतम प्रयोग गरेको बताउँदै राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको समेत बताउनुभयो ।
रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




